लालबन्दी–मेची महाकाली बुहारी संयुक्त आवाजको आयोजनामा सर्लाहीको लालबन्दीमा उद्घोषण तालीम सम्पन्न भएको छ ।
बुधवार एक कार्यक्रमका विच तालिमको समापन गरिएको हो । लालबन्दी नगर उपप्रमुख कल्पनामाया पाख्रिनको प्रमुख आतिथ्यतामा आयोजित तालिम समापन समारोहमा सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । तालिम पाचँ दिनसम्म संचालन भएको मेची महाकाली बुहारी संयुक्त आवाजकी सर्लाही जिल्ला संयोजक सानु पाख्रिनले जानकारी दिईन् ।
लालबन्दी नगरपालिकाको आर्थीक सहयोग तथा मेची महाकाली बुहारी संयुक्त आवाजको आयोजनामा भएको तालीमको गत बैशाख ३० गते लालबन्दी नगरप्रमुख वासुदेब अधिकारीले उद्घाटन गरेका थिए । तालिममा प्रशिक्षक नवराज खनाल र पत्रकार क्षितिज विश्वकर्माले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । तालिममा सहभागिहरुले धेरै कुरा सिक्ने अवशर पाएको बताए ।
लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुँईंटेलले सहभागीहरुले ५ दिनमा धेरै कुरा सिकेको बताए । उहाँले बोल्ने मात्रै नभई मिठो बोल्ने र शालिन, सभ्य र सहि तरीकाले बोल्ने भन्ने कुरामा पनि सहभागीले ख्याल गर्नुपर्ने बताए । प्रमुख अतिथी एवं लालबन्दी नगरपालिकाकी उपप्रमुख पाख्रिनले कार्यक्रम उपलब्दीमुलक रहेकोले आगामि दिनमा थप यस्ता कार्यक्रम ल्याउने जानकारी दिईन् ।
मेची महाकाली बुहारी संयुक्त आवाजकी मधेश प्रदेश सह–संयोजक रमा काफ्लेको संयोजनमा भएको समापन समारोहमा सहभागी रिता ब्लोनको संचालन र बर्षा लामाले स्वागत मन्तब्य राखिन् ।