राजु तामाङ, बागमती– सर्लाहीको बागमतीमा जारी प्रथम जिरायत कप जिल्ला स्तरीय फुटबल प्रतियोगितामा महाकाली युवा क्लब लालबन्दी सेमिफाइनलमा प्रवेश गरेको छ । भने, आरएफसी हरिवन फाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको अन्तिम क्वाटर फाइनल खेलमा महाकाली युवा क्लब लालबन्दीले ट्राइबेकरमा किस्मत युवा क्लब बागमती–५, लाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । निर्धारित समयमा दुवै टिमबाट एक–एकको बराबरी भएपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा महाकाली युवा क्लब सँग किस्मत युवा क्लब बागमती ४–२ गोल अन्तरले पराजित भयो ।
खेलको २७ औँ मिनेटमा सुदीप मगरको गोलबाट किस्मत युवा क्लब बागमतीले अग्रता बनाएको भएपनि २८ औँ मिनेटमा गोल गर्दै महाकालीका डम्बर विश्वकर्माले खेल बराबरीको अवस्थामा पुर्याएका थिए । आजको खेलको म्यान अफ द म्याचको उपाधि महाकालीका गोल रक्षक अरुण भोलनले जिते । जित सँगै महाकाली युवा क्लब लालबन्दीले बागमती एकेडेमी सँग सेमिफाइनल भेट पक्का गरेको छ ।
यस्तै आजको दोस्रो खेल तथा प्रतियोगिताको पहिलो सेमिफाइनलमा रतनपुर युनाइटेड युथ क्लब बारालाई २–१ गोल अन्तरले पराजित गर्दै आरएफसी हरिवन फाइनलमा पुगेको छ । खेलको २४ औँ मिनेटमा रतनपुर युनाइटेड युथ क्लब बाराका खेलाडी सागर चौधरीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर अग्रता जोगाउन नसक्दा रतनपुर फाइनलमा पुग्नबाट चुक्यो ।
आरएफसी हरिवनका लागी सुदीप लामा र डिकेश लामाले खेलको ४९ औँ र ५२ औँ मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए । आजको खेलको म्यान आफ द म्याचको उपाधि आरएफसी हरिवनका डिकेश लामाले पाए । जित सँगै आरएफसी हरिवनले प्रतियोगिताको कम्तिमा उपविजेताको उपाधि रक्षा गरेको छ ।
बागमती नगरपालिका–४, स्थित ॐ युवा क्लबको खेल मैदानमा भइरहेको प्रतियोगिता अन्तरगत भोलि मङ्गलवारको अन्तिम सेमिफाइनल खेलमा बागमती फुटबल एकेडेमी बागमतीले महाकाली युवा क्लब लालबन्दी सँग प्रतिस्पर्धा गर्ने भएको छ ।
मंसिर २० गते फाइनल हुने खेलको विजेता टोलीले नगद ५० हजार ५१ रुपैयाँ सहित प्रथम जिरायत कप, मेडल र प्रमाणपत्र तथा उपविजेता टोलीले नगद २५ हजार ५१ रुपैयाँ शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष जित बहादुर विश्वकर्माले जानकारी दिए ।
‘‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’’ भन्ने नारा सहित स्थानीय स्तरमा खेल क्षेत्रको विकास तथा खेलाडीको प्रोत्साहनको उद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएका हो ।