Thursday, January 16, 2025

बलरामा हुने दुई दिने विज्ञान प्रदर्शनी मेलाको तयारी पुरा

ताजा / भरखरै प्राप्त

बलरा–सर्लाहीको बलरामा हुने दुई दिने जिल्ला स्तरीय विज्ञान प्रदर्शनी मेलाको तयारी पुरा भएको छ ।

विद्यार्थीको रचनात्मकता, वैज्ञानिक सोच र नवीनतम आविष्कारको विकास र विस्तार गर्ने उद्देश्य सहित दुई दिने आधारभूत तथा माध्यमिक तहको जिल्ला स्तरीय विज्ञान प्रदर्शनी मेला आयोजना गर्न लागिएको हो । युनेस्कोको निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय सिंहदरबार, काठमाडौँ सँगको सहकार्यमा बलरा नगरपालिकाले विज्ञान प्रदर्शनी मेला आयोजना गर्न लागेको हो ।

मङ्सिर १८ गते मङ्गलबार (भोलि) र १९ गते बुधबार(पर्सी) दुई दिन हुने विज्ञान प्रदर्शनी बलरा नगरपालिका–८, मा रहेको जनता नमूना माध्यमिक विद्यालय गडहीया डुमरियामा सञ्चालन हुने भएको छ । प्रदर्शनीको तयारी समेत पूरा गरिएको बलरा नगरपालिकाका मेयर रामाशङ्कर प्रसाद कुशवाहाले जानकारी दिनुभयो । ‘‘हामीले तयारी पूरा गरेका छौँ ।’’ उहाँले भन्नु भयो, ‘‘सहभागि विद्यालयहरू समेत तयारी छन् ।’’

प्रदर्शनीमा जिल्लाका १४ स्थानीय तहका ३७ वटा विद्यालय छनौटमा परेका युनेस्कोका सहायक महासचिव रामेश्वर प्रसाद यादवले बताउनु भयो । उनीहरूले प्रदर्शनी स्थलमा विभिन्न विज्ञान र प्रविधि सम्बन्धी स्टल राख्ने आयोजकले जनाएको छ । प्रदर्शनीमा उत्कृष्ट ठहर हुने विद्यालयलाई आयोजकले पुरस्कृत समेत गर्ने शिक्षा विकास तथा समन्वय इकाई मलङ्गवाका निमित्त इकाई प्रमुख रामवृक्ष महतोले बताउनु भयो ।

शिक्षा विकास तथा समन्वय इकाइका अनुसार प्रदर्शनीमा माध्यमिक तहतर्फ प्रथम हुने विद्यालयलाई ३० हजार, द्वितीय हुनेलाई २५ हजार, तृतीय हुनेलाई २० हजार तथा अन्य दुईवटा विद्यालयलाई १०÷१० हजारका दरले सान्त्वना पुरस्कार प्रदान गरिने छ । भने, आधारभूत तह तर्फ प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार, तृतीय हुनेलाई सात हजार र अरु दुईवटा विद्यालयलाई चार÷चार हजारको दरले सान्त्वना पुरस्कार प्रदान गरिने आयोजकले जनाएको हो ।

जिल्लामै पहिलो पटक विज्ञान प्रदर्शनी मेला आयोजना हुने कुराले आफूहरूलाई असाध्य उत्साहित बनाएको जनता नमूना माध्यमिक विद्यालय गडहीया डुमरियाका प्रधानाध्यापक प्रमोद रायले प्रतिकृया दिनुभयो । आयोजकले सदरमुकाम मलङ्गवामा पत्रकार सम्मेलन गरी विज्ञान प्रदर्शनीका लागि बलरा नगरपालिकाले १५ लाख र युनेस्कोले पाँच लाख रुपियाँ बजेट बिनियोजन गरेको जनाएको हो । प्रदर्शनीको मङ्सिर १८ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले उद्घाटन गर्नुहुने तयारी भएको छ ।

यस किसिमको प्रदर्शनीले विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा प्रोत्साहन गर्ने अपेक्षा गरिएको आयोजक बलरा नगरपालिकाका मेयर कुशवाहाको भनाई छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles