सर्लाहीको हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योगले यस सिजनको लागि डोङ्गा पूजा (साइत) गरेको छ ।
बुधबार(आज) डोङ्गा पूजा गरिएको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिनुभयो । उखु किसानहरूको उपस्थितिमा भएको साइत पूजामा डोंगामा उखु हालेर यस सिजनको औपचारिक सुरुवात गरिएको उद्योगले जनाएको हो । यस सिजनको लागि उखु क्रसिङ भने आँउदो साताबाट सुरु गरिने भएको छ ।
उद्योगले यस सिजन ३५ लाख क्विन्टल उखु क्रसिङको लक्ष्य राखेको उद्योगका प्रशासकीय अधिकृत ठाकुर प्रसाद नेपालले जानकारी दिनुभयो । उद्योगले सम्पूर्ण तयारी गरिसकेको भएपनि गढिमाई मेलाका कारण किसान, मजदुर तथा उखु ढुवानी सवारी साधन समेत व्यस्त रहेकोले उद्योग सञ्चालन केही दिन पछि सरेको उहाँले भनाइ छ ।
यस्तै उद्योगको डोङ्गा पूजाको अवसरमा उद्योगपति राजेश केडियाले किसानको उखुको उचित मूल्यको समस्या समाधान उद्योग लागेको बताउनु भयो । उखु उत्पादन बढाएर किसानहरूलाई राहत दिनुपर्छ भनेर उद्योगले उखुको अर्ली भेराइटी किसानहरूलाई वितरण सुरु गरेको उहाँको भनाई थियो । उखुको मूल्य बढाउन सक्ने अवस्था नरहे पनि उत्पादन बढाएर किसानहरूले पर्याप्त आम्दानी गर्न सक्ने उहाँको तर्क थियो ।
जिल्लामा रहेका अन्य तीन उद्योगले केही समय पहिलाबाटै क्रसिङ सुरु गरिसकेका भएपनि इन्दुशङ्करले केही ढिलाइ गरेर साइत पूजा गरेको हो । जिल्लामा गोडैता नगरपालिका स्थित महालक्ष्मी चिनी उद्योग, धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योग, हरिपुर्वा नगरपालिका स्थित श्रीनगर र हरिवन स्थित इन्दुशङ्कर चिनी उद्योग गरी चार उद्योग सञ्चालनमा रहेका छन् ।
यस सिजनका लागि सरकारले उखुको समर्थन मूल्य उद्योगले भुक्तानी गर्ने गरी प्रति क्विन्टल ५८५ रुपैयाँ कायम गरेको छ । यो समर्थन मूल्य गत सिजनको भन्दा २० रुपैयाँ प्रति क्विन्टल बढी हो । तर, अनुदान वापतको रकम अझै टुङ्गो लागेको छैन् । देशमै धेरै उखु उत्पादन हुने सर्लाहीमा प्रतेक वर्ष ७० लाख क्विन्टल बढि उखु उत्पादन हुँदै आएको छ ।