Wednesday, January 22, 2025

बागमतीका मेयर, उपमेयरलाई झुटा मुद्दा लगाउने तयारी गरेको भन्दै माओवादी केन्द्रद्वारा आन्दोलनका कार्यक्रम घोषणा

ताजा / भरखरै प्राप्त

बागमती– सर्लाहीको बागमती नगरपालिकाका मेयर, उपमेयर लगायतलाई झुटा मुद्दामा फसाउन खोजेको भन्दै नेकपा(माओवादी केन्द्र) सर्लाहीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । 

मङ्गलबार लालबन्दी नगरपालिका स्थित नवलपुरमा पत्रकार सम्मेलन आयोजना गरी पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेको जिल्ला इन्चार्ज अच्युतम काफ्लेले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा वन विभागले डिभिजन वन कार्यालय सर्लाही मार्फत मुद्दा दर्ताको तयारी गरेको उनको आरोप छ । 

वन नभएका ठाउँमा वन क्षति गरेको तथा सुकुम्बासी बस्ती राखेको आरोपमा जन निर्वाचित मेयर भरत कुमार थापा, उपमेयर लिला कुमारी मोक्तान लगायत कर्मचारीहरूलाई मुद्दा लगाउने प्रपञ्च रचिनु सरासर गलत भएको उनको दावी छ । बागमती नदीले छाडेको नदी उकास जमिनलाई पर्यटकीय र वातावरणिय हिसाबले ताल बनाएर नगरको आर्थिक उन्नति र विकासको काम गरेका व्यक्ति माथि राज्यले ज्यादती गरेको इन्चार्ज काफ्ले बताए । 

पत्रकार सम्मेलन गर्नु अघि पूर्व निर्धारित कार्यक्रम अनुसार जिल्ला इन्चार्ज काफ्ले नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालय सर्लाही, सागरनाथ वन विकास परियोजना र डिभिजन वन कार्यालय सर्लाहीमा पुगी ज्ञापन पत्र समेत बुझाएको थियो । पार्टीले ५ दिन भित्र पुरा गर्न आग्रह गर्दै विभिन्न ४ बुँदे माग सहितको ज्ञापन पत्र बुझाएको हो । 

जिल्ला इन्चार्ज काफ्लेद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा झुटा वन मुद्दा लगाई जनप्रतिनिधि तथा कर्मचारीलाई फसाउने षड्यन्त्र तत्काल रोक्न, भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुलाई विस्थापित गर्ने षड्यन्त्र तत्काल बन्द गर्न, बागमती नगरपालिकाका प्रमुख भरत कुमार थापा, उपप्रमुख लिला कुमारी मोक्तान लगायत कर्मचारी माथि कपोकल्पित झुटा वन मुद्दा लगाउने षड्यन्त्र गरी राजनीतिक प्रतिशोध साध्ने कार्य तत्काल बन्द गर्न र राजनीतिक प्रतिशोध साधेर अन्यायपूर्ण कुनै पनि कदम नचाल्न माग गरिएको छ । 

न्यायोचित मागहरू ५ दिन भित्र पुरा नभए माघ १३ गतेबाट चरणबद्ध आन्दोलन गर्ने पार्टीले घोषणा गरेको छ । आन्दोलन अन्तरगत माघ १३ गते बिहान ११ बजे मोटरसाइकल र्‍याली सहित विरोध प्रदर्शन र डिभिजन वन कार्यालय अगाडि धर्ना बस्ने, माघ १४ गते बेलुका मसाल जुलुस, माघ १५ गते दिउसो बागमती नगरपालिका स्थित पुतली चोकमा २ घण्टा चक्का जाम, माघ १६ गते बिहान ८ बजे देखी जिल्ला भरी अनिश्चितकालीन चक्का जाम तथा बन्द आह्वान गर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 

राजनीतिक प्रतिशोध पूर्ण योजना सहित फसाउने प्रपञ्च विरुद्ध राजनीतिक रूपमै जवाफ दिइने पार्टीका स्थाई कमिटी सदस्य प्रल्हाद बुढाथोकीले बताए । लामो समय देखी सारा नगरलाई नै बन्धक बनाउने गरी रचिएको षड्यन्त्र सफल हुन नदिने भन्दै शान्तिपूर्ण आन्दोलनको क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जिम्मा सम्बन्धित निकायले लिनुपर्ने जारी ज्ञापन पत्रमा भनिएको छ । 

कानुनी शासनको पालना गर्ने तर, राजनीतिक प्रतिशोध साधेर गरिएको व्यवहार पार्टीलाई सह्य नहुने पार्टीका हरिवन नगर अध्यक्ष अर्जुन पन्तले बताए । विभिन्न नगर गौरवको आयोजना सञ्चालन गरी नगरको चौतर्फी विकास गर्ने नगरका जनप्रतिनिधिलाई प्रोत्साहनको सट्टा फसाउने योजना बनाउनु गैर न्यायिक कार्य भएको उनीहरूको भनाई छ ।   

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles