Tuesday, January 28, 2025

जनप्रतिनिधिलाई झुटो वन मुद्दामा फसाउन खोजेको भन्दै माओवादी केन्द्र सर्लाहीद्धारा मोटरसाइकल र्‍याली र घेराउ

ताजा / भरखरै प्राप्त

बागमती-झुटो वन मुद्दा विरुद्ध नेकपा माओवादी केन्द्र सर्लाहीले मोटरसाइकल र्‍याली सहित डिभिजन वन कार्यलय घेराउ गरेको छ । 

आइतबार मोटरसाइकल र्‍याली सहित जिल्लाका विभिन्न स्थानबाट पुगेका सुकुम्बासी, स्थानीय तथा माओवादी केन्द्रका नेता कार्यकर्ताले नारावाजी सहित डिभिजन वन कार्यलय घेराउ गरेका हुन् । बागमती नगरपालिका–४ र १२ मा निर्माणाधीन रहेको भरत ताल, नगर बगैँचा र नगरले सुकुम्बासी व्यवस्थापन गरेको विषयमा बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, उपमेयर लिला कुमारी मोक्तान सहित केही कर्मचारी विरुद्ध डिभिजन वन कार्यलयले मुद्दा दर्ता गर्ने तयारी गरेको हो । 

हुँदै नभएको कपोकल्पित मुद्दा बनाएर फसाउन खोजेको भन्दै नागरिक आन्दोलित भएका माओवादी केन्द्रका सर्लाही इन्चार्ज अच्युतम काफ्लेले बताए । राजनीतिक प्रतिशोध साधेर सरकारले जनप्रिय मेयर र उपमेयर विरुद्ध झुटा मुद्दा लगाएर फसाउन खोजेको पार्टीको आरोप छ । पूर्व निर्धारित विरोध कार्यक्रम अन्तरगत सर्लाहीले पूर्व पश्चिम राजमार्ग स्थित पश्चिममा बागमती पुतली चोक देखी पूर्वमा फूलजोर खोला पुल सम्म सयैँको सङ्ख्यामा मोटरसाइकल र्‍याली सहित प्रदर्शन गरेको माओवादी केन्द्रले जनाएको हो ।

मोटरसाइकल र्‍याली पछि केही बेर लालबन्दीमा रहेको डिभिजन वन कार्यालय घेराउ गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि हाल मेयर थापा र उपमेयर मोक्तान निलम्बित अवस्थामा छन् । स्थानीय सरकार सञ्चालन ऐनले गरेको व्यवस्था अनुसार बागमती नदीले छाडेको नदि उकास जमिनलाई तालमा रूपान्तरण गरेर नगरको आयआर्जन पर्यटकीय र वातावरणीय हिसाबले प्रयोग गरेको कुरामा अनेक प्रपञ्च रच्ने काम भएको पार्टीको दावी छ । 

जनप्रतिनिधि निर्वाचित हुनु पूर्व नै सागरनाथ वन परियोजना र डिभिजन वन कार्यलयले राखेका सुकुम्बासीलाई स्थानीय सरकारले व्यवस्थापन गरेको विषयलाई अतिरञ्जित तुल्याएर अतिक्रमणको झुटो मुद्दा लगाउने काम तत्काल बन्द गर्न समेत पार्टीले जोडदार माग गरेको हो । यसै विषयमा माओवादी केन्द्रले मधेस प्रदेशका मुख्यमन्त्री र वनमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै जनप्रतिनिधिलाई झुटा मुद्दामा फसाउने षड्यन्त्र नरोकिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको थियो । 

पार्टीले सरकारी षड्यन्त्र विरुद्ध मोटरसाइकल र्‍याली, वन कार्यालयमा विरोध प्रदर्शन, धर्ना, मशाल जुलुस, जनसभा, बन्द र आम हड्ताल सम्मका कार्यक्रम यस अघिनै घोषणा गरेको छ । स्थानीय सरकारले गरेको विकास देख्न नचाहने विरुद्ध आफूहरू कडा रुपमा सङ्घर्षको कार्यक्रममा जाने पार्टीका स्थाई कमिटी सदस्य प्रल्हाद बुढाथोकीले बताए । 

यता सङ्घीय तथा प्रदेशको वन मन्त्रालयले बागमतीमा निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) र आसपासको क्षेत्रमा बसेको बस्ती सागरनाथ वन विकास परियोजनाको वन क्षेत्रभित्र पर्ने/नपर्ने भनी अनुसन्धान गर्न डिभिजन वन कार्यालयलाई पत्र पठाएको थियो । मन्त्रालयबाट पत्र प्राप्त भएपछि अनुसन्धान अधिकृत तोकेर पोखरी निर्माण भएको स्थल तथा आसपासको वस्ती वन क्षेत्रभित्र पर्ने नपर्ने वा संरचना निर्माणका क्रममा स्वीकृत लिए/नलिएको अनुसन्धान सुरु गरिएको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख सन्तोष झाले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles