ब्रम्हपुरी–भारतबाट अपहरणमा परेका एक बालकलाई सर्लाही प्रहरीले ब्रम्हपुरीबाट सकुशल उद्धार गरेको छ ।
सोमबार ब्रम्हपुरी गाउँपालिका–४, स्थित एक घरमा बन्धक बनाएर राखेको अवस्थामा प्रहरीले एक १५ वर्षका बालकको सकुशल उद्धार गरेको हो । घटनामा बालक अपहरणमा सम्लग्न एक भारतीय सहित तीन जना पक्राउ परेका जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । प्रहरीले बालकलाई अभिभावकको जिम्मा लगाएको छ ।
पक्राउ पर्नेमा बालकलाई बन्धक बनाएको घरधनी समेत रहेका सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४, निवासी ६८ वर्षका रामजी साह, सोही स्थान बस्ने सञ्जय पासवानका छोरा १९ वर्षका बिक्रम पासवान र भारतको बिहार राज्य सीतामढी जिल्ला राजबाडा ग्रामपञ्चायत मुस्हर्निया टोल बस्ने २७ वर्षका प्रवचन साह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
‘‘भारतबाट ल्याएर एक १५ वर्षका बालकलाई बन्धक बनाई फिरौती मागी रहेको भन्ने हामीलाई सूचना आएको थियो ।’’ प्रहरी प्रवक्ता श्रेष्ठले भने, ‘‘त्यसपछि प्रहरी टोलीले छापा मारेर बालकको उद्धार तथा संलग्नलाई पक्राउ गरेको हो ।’’ प्रहरीले छापामारी गर्न थालेपछी अभियुक्तहरूले चढेर भाग्दै गरेको बिआर ०६ बिटी २८५० नम्बरको भारतीय मोटरसाइकलमा समेत बरामद गरेको छ ।
प्रहरीले घटना स्थल तथा उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली २ राउन्ड, एक थान मोबाइल सेट, धारिलो सानो चक्कु र हतौडा एक÷एक थान बरामद गरेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए । सुरुमा पक्राउ परेका दुई जनाले घटनाका मुख्य योजनाकारको रुपमा बालकलाई बन्धक बनाएको घरधनी समेत रहेका रामजी साहको नाम पोले पछि प्रहरीले उनलाई समेत नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका तीनै जनालाई शरीरबन्धक हातहतियार तथा खरखजाना मुद्दामा जिल्ला अदालत सर्लाहीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको हो ।