वसबरिया–सर्लाहीको बसवरियामा चिसोले कठ्याङ्ग्रिएका विपन्न मुसहर सुत्केरीहरूले न्यानो कपडा र पोषण खाना पाएका छन् ।
बुधबार बसवरिया गाउँपालिका–३, बङ्गलवाका विपन्न मुसहर सुत्केरी महिलाहरूलाई न्यानो कपडा र खाद्यानन्न प्रदान गरिएको हो । केही दिन यता तराईका जिल्लामा बाक्लो हुस्सु सहित शीतलहर सुरु भएको थियो । मुटु काम्ने जाडोमा समेत परालको ओछ्यानमा सारी टागेर चिसो छल्नु परेको १० दिने सुत्केरी जोनिता माझीले गुनासो गर्नु भएको थियो ।
सुत्केरीहरूको अवस्था सम्बन्धी समाचारहरू प्रकाशित भएपछि सहयोगी संस्थाले न्यानो कपडा र खाद्यानन्न प्रदान गरेका हुन् । गाउँका ५ जना सुत्केरी आमा र बच्चाको लागि प्राप्त न्यानो कपडा, सिरक, डस्ना, चामल, गेडागुडी र घिउ बितरण गरिएको गाउँपालिका अध्यक्ष राम सिहासन रायले जानकार दिनुभयो । ‘‘विपन्न परिवारको अवस्थाबारे समाचार प्रकाशन भएपछि सहयोगी संस्थाले खाद्यानन्न र केही कपडा प्राप्त भएको थियो ।’’ उहाँले भन्नुभयो, ‘‘उक्त समान सम्बन्धित परिवारलाई वितरण गरेका छौँ ।’’
राहत पाएपछि १० दिनकी सुत्केरी २३ वर्षकी जोनिता माझीले खुसी व्यक्त गर्नु भयो । चिसोका कारण सङ्कटमा परेको आफू र बच्चाको लागि सहयोग गरेको भन्दै सहयोगी संस्थालाई उहाँले धन्यवाद ज्ञापन गर्नु भयो । सुत्केरी अवस्थामा रहेका सोही गाउँका २४ वर्षीया बिना माझी, २० वर्षीया दिपा माझी, ३० वर्षीया मनिषा माझी र २० वर्षकी पुनीता माझीलाई समेत संस्थाले पोषिलो खाद्यानन्न र न्यानो कपडा प्रदान गरेको छ । चिसोमा न्यानो कपडा किन्न आर्थिक अवस्था नहुँदा चिसोमा निकै कष्टपूर्ण दैनिकी गुजार्नु परेको उहाँहरूको गुनासो थियो ।
सुत्केरी मुसहर महिलाहरूको अवस्थाबारे समाचार आएपछि लायन्स क्लब अफ काठमाडौँ होली स्माइल कुलेश्वरले उक्त सामाग्रीहरू उपलब्ध गराएको थियो । प्राप्त सामाग्री विपन्न सुत्केरी महिलाहरूलाई उहाँहरूको गाउँमै पुगेर वितरण गरेको स्थानीय व्यवस्थापक संस्था साहसी नेपालकी अध्यक्ष पवित्रा माझीले बताउनु भयो । सुत्केरी महिलाहरूको लागि भारतको बैंङग्लोरमा व्यवसाय गर्ने दीपक देउवा परिवारले समेत आर्थिक सहयोग गर्नु भएको थियो ।
लायन्स क्लब अफ काठमाडौँ होली स्माइलको सहयोगमा मुसहर टोलका अन्य ४५ परिवारलाई ज्याकेट, सर्ट, पेन्ट, जुत्ता लगायतको न्यानो सामाग्री समेत वितरण गरिएको कार्यवाहक वडाध्यक्ष राम प्रकाश राय यादवले जानकारी दिनुभयो ।