राजु तामाङ, हरिवन–नेकपा माओवादी केन्द्रकी प्रभावशाली महिला नेतृ स्वर्गीय माया बलको स्मृति दिवस मनाइएको छ ।
सोमबार नेकपा (माओवादी केन्द्र) हरिवन नगर कमिटीको आयोजनामा विभिन्न कार्यक्रम गरी नेत्री बलको दोस्रो स्मृति सभा गरिएको हो । उहाँको सम्झनामा हरिवन नगरपालिका स्थित नगर पार्टी कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको पार्टीका नगर कमिटी अध्यक्ष अर्जुन पन्तले जानकारी दिए ।
पार्टीको जिल्ला इन्चार्ज अच्युतम काफ्लेको प्रमुख आतिथ्यतामा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको थियो । सभामा उपस्थित सम्पूर्ण नेता कार्यकर्ताले स्वर्गीय बलको तस्बिरमा फुल र अबिर चढाएर श्रद्धा सुमन व्यक्त गरेका पार्टीका नगर कमिटी सचिव गौरी महतोले जानकारी दिए । कार्यक्रममा नेत्री बलले पार्टी र समाजको लागि पुर्याउनु भएको योगदानको समेत चर्चा गरिएको थियो ।
कार्यक्रमका वक्ताहरूले उहाँले अँगाल्नु भएको बाटोमा अघिबडे मात्र उहाँ प्रतिको सच्चा श्रद्धाञ्जली हुने कुरामा जोड दिएका थिए । समाजका एक निडर र साहसी महिला नेत्रीको पहिचान बनाउनु भएको थियो । क्यान्सर जस्तो घातक रोगबाट पीडित नेत्री बलको उपचारको क्रममा उहाँको २०७९ माघ ७ गते काठमाडौँमा निधन भएको थियो ।
श्रद्धाञ्जली कार्यक्रममा पार्टीका स्थाई कमिटी सदस्य प्रल्हाद बुढाथोकी, केन्द्रीय सदस्य सावित्रा बुढाथोकी, वैकल्पिक केन्द्रीय सदस्य तथा हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी (कमल), नेता भरत कुमार थापा, जवाहरलाल कुशवाहा, राजकुमार यादव, विनिता दहाल, बागमती नगरपालिका–२, का वडा अध्यक्ष टेक बहादुर बल (बाबु), पूर्व जनमुक्ति सेना सङ्घ सर्लाही जिल्ला अध्यक्ष टङ्क बहादुर बोहरा, विद्यार्थी नेता विवेक मैनाली, चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसका स्ववियु सभापति प्रेमराज दाहाल लगायतको आतिथ्यता रहेको थियो ।
यसैबीच स्वर्गीय नेत्री बलको दोस्रो स्मृति दिवस पारेर उहाँको परिवारले हरिवन–१, स्थित कैलाशपुरीमा रहेको मानव सेवा आश्रममा आश्रित लक्ष्मी नारायणहरुलाई भोजन गराएका छन । उहाँकाे परिवार समेतको उपस्थितिमा आश्रममै पुगेर मिष्ठान्न भोजन गराइएको थियो ।