Wednesday, January 29, 2025

सर्लाहीको बागमतीमा ३४६ जनाको आँखाको ज्योति फर्काइयो

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमतीमा मोतिया बिन्दुको शल्यक्रिया गरी ३४६ जनाको आँखाको ज्योति फर्काइएको छ ।

बागमती नगरपालिका–५, सोल्टीमा तीन दिन सञ्चालन भएको शल्यक्रिया शिविरमा ३ सय ४६ जनाको मोतिया बिन्दुको उपचार गरिएको हो । गत माघ ४ गते देखी सञ्चालन भएको मोतिया बिन्दु पहिचान(स्कृनिङ) शिविरमा फेला परेका बिमारीहरूको शल्यक्रिया गरिएको नगरपालिका स्वास्थ्य शाखा संयोजक पदम बहादुर रायमाझीले बताउनु भयो ।

बागमती र बरहथवा नगरपालिकामा समेत गरी १० स्थानमा स्कृनिङ शिविर सञ्चालन गरिएको थियो । शिविरमा दुई हजार १ सय ९६ जनाले आँखा जाँच गराएका थिए । शिविरबाट निशुल्क आँखाको शल्यक्रिया भएको भन्दै बागमती नगरपालिका–२, निवासी सुन्दरी माया घिसिङले खुसी व्यक्त गर्नु भयो । ‘‘मेरो दुवै आँखामा मोतिया विन्दु भएको थियो ।’’ उहाँले भन्नु भयो, ‘‘गत वर्ष एउटा आँखा गरेको अहिले अर्को गरेको ।’’

बागमती नगरपालिका–४, निवासी तुला बहादुर विश्वकर्माले टाढा जान नसक्ने पैसा नहुनेहरूको लागी शिविर आउँदा खुसी आए जस्तै भएको बताउनु भयो । ‘‘भगवान भनेको डाक्टर हो, भन्ने सुनेको थिए ।’’ उहाँले भन्नुभयो, ‘‘आज आफूलाई पनि हो जस्तै लागेको छ । आँखा धमिलो हुँदै बन्द भएको थियो । अहिले फेरी देख्ने भएको छु । आँखा पाउँदा संसार पाएको जस्तै भएको छ ।’’

बागमती नगरपालिकाको आयोजना तथा तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको प्राविधिका सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठानकी नेत्र रोग विशेषज्ञ चिकित्सक डाक्टर सञ्जिता शर्मा नेतृत्वमा डाक्टर सुदीपराज भण्डारी र डाक्टर छिरिङ समेतको टोली खटिनु भएको थिए । एकै दिन एक सय ४३ जनाको आँखामा भएको मोतिया विन्दुको शल्यक्रिया गरिएको चिकित्सक शर्माले बताउनु भयो ।

यस नगरपालिकाले तिलगङ्गा आँखा प्रतिष्ठान सँगको सहकार्यमा हरेक वर्ष आँखा शिविर सञ्चालन गरिरहेको छ । आर्थिक रुपमा विपन्न नागरिक धेरै रहेको भन्दै उहाँहरूको सुविधाको लागि वर्षेनी निशुल्क शिविर आयोजना गर्ने गरिएको नगरका कार्यवाहक मेयर कृष्ण लामाले जानकारी दिनुभयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles