हरिपुर– सर्लाहीको हरिपुर नगरपालिका स्थित हजारबिगाह क्षेत्रमा जङ्गली हात्ती आतङ्क सुरु भएको छ ।
गए साँझबाट हरिपुर नगरपालिका–१, स्थित हजार विगाह क्षेत्रमा स्थानीयको घर तथा बालीनालीमा हात्तीले क्षति पुर्याउन थाले हो । हात्तीले बिगा बढि क्षेत्रफलको बालिनाली र एउटा घरमा क्षति पुर्याएको हरिपुर नगरपालिका–१, का वडाध्यक्ष नानीबाबु थापाले जानकारी दिनुभयो । हात्तीले खेती र घरमै आएर आक्रमण गर्न थालेपछी स्थानीय त्रसित बनेका हुन् ।
तीन वटाको समुहमा देखिएको जङ्गली हात्तीले किसानको खेतमा पसेर मकै, गँहु तथा उखुबारीमा क्षति पुर्याइरहेको वडाध्यक्ष थापाले जानकारी दिए । ‘‘गएराती एक्कासि वन नजिकैबाट खेत हुँदै हात्तीहरू गाउँ आइपुगेका रहेछन् ।’’ उनले भने, ‘‘खेतमा लगाएको बालीनाली र एउटा घरमा समेत क्षति गरेको छ ।’’ जङ्गली हात्ती नियन्त्रणको लागि सुरक्षा निकाय र वन कार्यालयलाई खवर गरेको उनले बताए ।
जङ्गली हात्तीको बथानले स्थानीय मुना लायो मगरको कच्ची घर भत्काए पछि उनी छिमेकीको शरणमा पुगेकी वडाध्यक्ष थापाको भनाई छ । विपन्न एकल महिला लायो मगरको हात्तीले घर भत्काएर बिचल्ली बनाएको छिमेकी निर्मला कार्कीले बताइन । घरमा भएको थोरै अन्न समेत हात्तीले खाइदिएको पीडित मगरले गुनासो गरिन ।
रातको समयमा हात्ती आएको देखेपछि छिमेकीको घर तर्फ भागेर ज्यान जोगाएको उनको भनाई छ । सोही हात्तीको बथानले स्थानीय निर्मला कार्की, अष्टम खड्का, गोपाल बस्नेत लगायतको एक बिगा बढि खेतको मकै, गहुँ र उखु बाली क्षति गरेको पाइएको सव–डिभिजन वन कार्यालयका प्रमुख रोहित चौधरीले जानकारी दिए ।
दिनभर जङ्गलमा लुकेर बस्ने जङ्गली हात्ती रातको समयमा नजिकैको खेतबारी र गाउँमा पसेर उपद्रो गर्ने भएकाले सव डिभिजन वन कार्यालय जानकीनगर सावधानी अपनाउन आग्रह गरेको छ । यस वन क्षेत्रमा वर्षेनी जङ्गली हात्ती आउने र स्थानीयको बाली तथा घरमा क्षति गरेर दुख दिने गरेको छ । गत वर्ष पनि जङ्गली हात्तीको आक्रमणबाट घुर्कौली जङ्गलमा घाँस काँटन गएका एक युवकको ज्यान गएको थियो ।
केही समय यता रौतहटको विभिन्न वन क्षेत्रमा देखिएको हात्ती हरिपुर आइपुगेको हुन सक्ने डिभिजन वन कार्यालयको अनुमान छ ।