राजु तामाङ, हरिवन– सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ५ कार्यालयले ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरेको छ ।
शुक्रबार वडा कार्यालय प्राङ्गणमा आयोजित एक कार्यक्रमका बिच वडा भरीका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । आर्थिक वर्ष ०८०÷८१ को दुई लाख रकमबाट ६८ वर्ष माथिका १ सय ८६ जना वयोवृद्ध आमाबुवाहरुलाई सम्मान गरेको वडाध्यक्ष नागेन्द्र कुमार साहले जानकारी दिए ।
यस वडामा हरेक वर्ष ज्येष्ठ नागरिक, महिला, अपाङ्गता र विपन्न परिवारलाई सम्मान तथा सहयोग गर्ने गरिएको छ । गत वर्ष पनि ज्येष्ठ नागरिकलाई हर्लिक्स, झुल, छाता लगायतका सामाग्री सहित सम्मान गरिएको थियो । यस वर्ष बढ्दो ठण्डीका कारण केही राहत होस भन्ने उद्देश्य सहित फाइबरको सिरक वितरण गरिएको अध्यक्ष साहको भनाई छ ।
यस्तै यस वडाले शिक्षा तर्फ जनसेवा माविका सेवा निवृत्त शिक्षक हिरा बहादुर लामा, खेल तर्फ सितोरियो करातेका प्रशिक्षक गीता चौधरी, पूर्व फुटबल खेलाडी तथा प्रशिक्षक लाल बहादुर स्याङ्तान, क्रिकेट खेलाडी रबिन कुमार शर्मा, युवा कृषि उद्यमी सतन कुमार महतो र महावीर स्याङ्तानलाई सम्मान गरेको हो ।
त्यस्तै वडा भित्रका विभिन्न १२ वटा टोल विकास संस्थालाई पनि सम्मान गरिएको वडा अध्यक्ष साहले जानकारी दिए । सम्मानित हुने सबैलाई वडा कार्यालयले दोसल्ला ओडाएर सम्मान पत्र प्रदान गरेको थियो । वडा अध्यक्ष साहको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा मधेस प्रदेश सरकारका निवर्तमान श्रम तथा यातायात मन्त्री बेची लुङ्गेली ज्यूको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल), उपप्रमुख हरिमाया घलान, प्रमुख प्रशासकीय अधिकृत प्रतीक कार्की, नेकपा एकीकृत समाजवादी पार्टी जिल्ला अध्यक्ष सुरेन्द्र लामाको विशिष्ट आतिथ्यता रहेको थियो । भने, नेकपा एसका जिल्ला उपसचिव धन बहादुर मिक्चन, नेकपा माओवादीका नेता केदार बस्नेत, विवेक मैनाली, पत्रकार भक्ति रिजाल, सिंगलाल योन्जन, सुनिल लामा, अमर लाल तामाङ, वडा सदस्यहरू छ्याङ दोर्जे थिङ, शङ्कर महतो, शोभा विश्वकर्मा र बुद्धि कुमारी बल लगायतको आतिथ्यता रहेको थियो ।