हरिवन–सर्लाहीको हरिवन नगरपालिका स्थित घुर्कौलीमा सम्पन्न वडास्तरिय टि–२० क्रिकेटको उपाधि हरिवनकै समिर–११ ले जितेको छ ।
बुधबार सम्पन्न फाइनल खेलमा आयोजक फैजाने युवा क्लबलाई ४ रनले पराजित गर्दै समिर–११ विजयी भएको हो । विजेता बनेको समिर–११ ले नगद २० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक फैजाने युवा क्लबका अध्यक्ष एमडी अशरफले जानकारी दिए । उपविजेता बनेको फैजान युवा क्लबले नगद ८ हजार शिल्ड मेडल प्रमाण पत्रमा चित्त बुझाएको छ ।
टस जितेर ब्याटिङ गरेको समिर–११, हरिवनले पुरा ओभर खेल्दै १९० रन बनाएको थियो । जबाफी ब्याटिङमा आएको आयोजक फैजाने युवा क्लब १८६ रनमा अल आउट भयो । निकै रोमान्चक बनेको फाइनल खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेका हरिवन नगरपालिका–५, का वडाध्यक्ष नागेन्द्र साहले बताए । फैजाने युवा क्लबको आयोजनामा गत पुस २५ गतेबाट हरिवन–५, सिद्धार्थटोल खेल मैदानमा सुरु भएको क्रिकेट प्रतियोगिता आज सम्पन्न भएको हो ।
प्रतियोगितामा हरिवन सहित लालबन्दी, बरहथवा, हरिपुर र ब्रह्मपुरी गरी ५ पालिकाका ८ वटा टिमले सहभागिता जनाएका थिए । युवा पुस्तालाई कुलतबाट बचाई खेल खेल्न प्रोत्साहन गर्ने उद्देश्य सहित फैजाने युवा क्लबको आयोजना तथा हरिवन नगरपालिका–५, नम्बर वडा कार्यालयको सहयोगमा वडास्तरिय टि–२० क्रिकेट प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष अशरफले जानकारी दिए ।