विष्णु-विष्णु गाउँपालिकाका आगलागी पीडित ६१ परिवारलाई फाइबर सिरक वितरण गरिएको छ ।
बिहीबार जिल्ला विपद् व्यवस्थापन समितिले बिष्णु गाउँपालिका–१, पुर्वारीटोलका ६१ अग्नि पीडितहरूलाइ फाइबर सिरक वितरण गरिएको हो । बढ्दो ठन्डीमा विपन्न परिवारलाई राहत स्वरुप न्यानो फाइबर सिरक वितरण गरिएको समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले जानकारी दिए ।
राहत स्वरुप फाइबर सिरक पाएपछि स्थानीय निकै खुसी भएका थिए । गत बैशाख २० गते दिउसो विष्णु गाउँपालिका स्थित बाराउद्योरणमा एक्कासि लागेको आगोले गाउँनै खरानी भएको थियो । आगलागीबाट घरवास गुमाएका केही परिवार अझै पनि पाल मुनी छन् । दिगो व्यवस्थापनमा कसैले चासो नदिएको पीडितहरूको गुनासो छ ।
फाइबर सिरक वितरण कार्यक्रममा विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल राय, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रविन्द्र बहादुर सिंह, सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरे, सशस्त्र प्रहरी नायब उपरीक्षक एकराज, वडा अध्यक्ष लगायतको उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादवले जानकारी दिए ।