Wednesday, January 15, 2025

शिक्षक दरबन्दी पुनरावलोकनको कामहुँदै छ : मन्त्री भट्टराई 

ताजा / भरखरै प्राप्त

बलरा-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा ऐन प्रतिनिधि सभामा छलफलको क्रममा रहेको बताउनु भएको छ । 

मङ्गलबार सर्लाहीको बलरा नगरपालिकामा आयोजित दुई दिने जिल्ला स्तरीय विज्ञान प्रदर्शनी मेलाको उद्‌घाटन सभालाई सम्बोधन उहाँले यस्तो बताउनु भएको हो । यसले विज्ञान र प्रविधिको विकासलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा निश्चित विषयहरू प्रदान गर्ने अपेक्षा गरिएको उहाँको भनाई थियो । 

विज्ञान र प्रविधि नौलो कुरा हो भन्दा पनि यो हाम्रो जीवन सँग जोडिनु पर्ने उहाँले बताउनु भयो । ‘‘विज्ञान र प्रविधि हाम्रो सिँकाई सँग जोडिनु पर्छ ।’’ मन्त्री भट्टराईले भन्नु भयो, ‘‘विज्ञान र प्रविधि हाम्रो जीवनको दैनिकी सँग जोडिनु पर्छ । जसले गर्दा हामीले विज्ञान र प्रविधिको माध्यमबाट उद्यमशिलताको विकास गर्न सक्छौँ ।’’ 

विज्ञान र प्रविधिलाई छुट्टै कुरा हो नभनी जीवनको सिकाइको पक्षको रुपमा दिनुपर्नेमा उहाँको जोड थियो । बालबालिकालाई सिपयूक्त शिक्षाको लागि पनि यसलाई विद्यालय शिक्षा देखिनै प्रवर्तन गर्दै लैजानु पर्ने उहाँको भनाई छ । यस प्रकारको कार्यक्रमले परिणाम मुखी शिक्षामा पहुँच विस्तार गर्ने भएकाले देशका अन्य पालिकालाई पनि यस्ता कार्यक्रम आयोजना गर्न उहाँले आग्रह गर्नु भयो । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाको समग्र विकास गर्ने लक्ष्यका साथ अनिवार्य तथा निशुल्क शिक्षा, विद्यालय पोषण तथा दिवा खाजा, प्राविधिक शिक्षाको गुणस्तर सुधार र एसइई परीक्षाको परीक्षाफल सुधार र शिक्षक दरबन्दी पुनरावलोकन लगायतको विषयमा काम गरिरहेको उहाँले जानकारी दिनुभयो । यसको परिणाम निकट भविष्यमै आउने समेत मन्त्री भट्टराईले दावी समेत गर्नुभयो । 

विद्यार्थीको रचनात्मकता, वैज्ञानिक सोच र नवीनतम आविष्कारको विकास र विस्तार गर्ने उद्देश्य सहित सुरु भएको दुई दिने आधारभूत तथा माध्यमिक तहको जिल्ला स्तरीय विज्ञान प्रदर्शनी मेलाको मन्त्री भट्टराईको प्रमुख आतिथ्यतामा उद्‌घाटन गरिएको हो । प्रदर्शनी युनेस्कोको निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय सिंहदरबार, सँगको सहकार्यमा बलरा नगरपालिकाले आयोजना गरेको छ ।

बलरा नगरपालिका–८, मा रहेको जनता नमूना माध्यमिक विद्यालय गडहीया डुमरिया प्रांगणमा सञ्चालन भएको प्रदर्शनीमा जिल्लाका १४ वटा पालिकाका ३८ वटा विद्यालयले स्टलहरू राखेका छन् । स्टलमा विद्यार्थीहरूले  तयार गरेका नवीनतम विज्ञान र प्रविधिहरू प्रदर्शन गरिएको आयोजक बलरा नगरपालिकाका मेयर रामाशंकर प्रसाद कुशवाहले बताउनु भयो । प्रदर्शनीमा उत्कृष्ट हुने विद्यालयलाई पुरस्कृत गरिने शिक्षा विकास तथा समन्वय इकाई मलङ्गवाका निमित्त इकाई प्रमुख रामवृक्ष महतोले बताउनु भयो ।

शिक्षा विकास तथा समन्वय इकाइका अनुसार प्रदर्शनीमा माध्यमिक तहतर्फ प्रथम हुने विद्यालयलाई ३० हजार, द्वितीय हुनेलाई २५ हजार, तृतीय हुनेलाई २० हजार तथा अन्य दुईवटा विद्यालयलाई १०÷१० हजारका दरले सान्त्वना पुरस्कार प्रदान गरिने छ । भने, आधारभूत तह तर्फ प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार, तृतीय हुनेलाई सात हजार र अरु दुईवटा विद्यालयलाई चार÷चार हजारको दरले सान्त्वना पुरस्कार प्रदान गरिने आयोजकले जनाएको हो ।

विज्ञान प्रदर्शनीका लागि बलरा नगरपालिकाले १५ लाख र युनेस्कोले पाँच लाख रुपियाँ बजेट बिनियोजन गरेको जनाएको छ । प्रदर्शनी उद्घाटन कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयका छात्रछात्राहरुले मार्च पास, नृत्य, गायन लगायतका प्रस्तुती राखेका थिए । 

प्रदर्शनी उद्घाटन समारोहमा निरवर्तमान रक्षा मन्त्री हरि प्रसाद उप्रेती, संविधान सभासदस्य शिवपुजन राय यादव, मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर राय, बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटुवाल लगायतको आतिथ्यता रहेको थियो । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles