राजु तामाङ, बागमती– सर्लाहीको बागमतीमा सम्पन्न प्रथम जिरायत कप जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधि महाकाली युवा क्लब लालबन्दीले जितेको छ ।
बिहीबार बागमती नगरपालिका–४, स्थित ॐ युवा क्लबको खेल मैदानमा सम्पन्न फाइन खेलमा आरएफसी हरिवनलाई ट्राइबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै महाकाली युवा क्लब लालबन्दीले उपाधि जितेको हो । महाकालीले प्रथम जिरायत कप सहित ५० हजार ५१ रुपैयाँ नगद र मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । भने, आरएफसी हरिवनले उपविजेताको उपाधिमा चित्त बुझायो ।
उपविजेता बनेको हरिवनले उपाधि सहित नगद २५ हजार ५१ रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गरेको हो । खेलको निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसके पछि खेलको निर्णय ट्राइबेकरबाट लिइएका थियो । ट्राइबेकरमा आरएफसी हरिवन अभागी सावित भयो । फाइनल खेलको म्यान अफ द म्याचको पुरस्कार महाकालीका गोल रक्षक अरुण ब्लोनले पाए ।
यस्तै प्रतियोगिताको उत्कृष्ट टिमको उपाधि आयोजकको (ए) टिमले प्राप्त गरेको छ । भने, महाकालीका अरुण ब्लोन प्रतियोगिताको उत्कृष्ट गोल रक्षक, आरएफसीका आशिष लामा उत्कृष्ट मिडफिल्डर, महाकालीका रामहरी पौडेल उत्कृष्ट खेलाडी, आरएफसीका रबी रखाल उत्कृष्ट डिफेन्डर र आरएफसीका क्षितिज भण्डारी प्रतियोगिताको उत्कृष्ट गोलकर्ता घोषित भए ।
निवर्तमान रक्षा मन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा आयोजित उपाधि वितरण सभामा विशिष्ट अतिथिमा जवाहरलाल कुशवाह तथा अतिथिहरूमा वडा सदस्य रामसुन्दर महतो, नेपाल फुटबल प्रशिक्षक सङ्घका केन्द्रिय उपाध्यक्ष अजुर्न कुमार चौधरी, जिल्ला फुटबल सङ्घ सर्लाहीका वरिष्ठ उपाध्यक्ष विभुसिङ थापा, दीपक लामा लगायत रहेका थिए ।
सर्लाही जिल्ला फुटबल सङ्घका प्रशिक्षक बेनी बहादुर कटुवाल, रिता मैनाली, पार्वती विश्वकर्मा, रिपुमर्दन आले, जित बहादुर गोले, अस्थाई प्रहरी पोष्ट जिरायतका प्रमुख बिरेन्द्र कुमार चौधरी, सशस्त्र प्रहरी बल धरहराका प्रहरी निरीक्षक हेराम बहादुर कुँवर, नेकपा एमाले बागमतीका अध्यक्ष गोकुल बस्नेत, जनज्योति आधारभुत विद्यालयका प्रधानाध्यापक मनोज खनाल लगायतको उपस्थिति रहेको थियो ।
गत मंसिर १० गतेबाट सुरु भएको यस प्रतियोगितामा सर्लाही सहित महोत्तरी र बाराको गरी १८ वटा टिमले सहभागिता जनाएका थिए ।‘‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’’ भन्ने नारा सहित स्थानीय स्तरमा खेल क्षेत्रको विकास तथा खेलाडीको प्रोत्साहनको उद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष जित बहादुर विश्वकर्माले जानकारी दिए ।