Wednesday, January 15, 2025

मदन भण्डारी फाउन्डेसनको मधेश प्रदेश कमिटीले पूर्णता पायो

ताजा / भरखरै प्राप्त

बर्दिवास-नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको वैचारिक मार्गको अनुशरण गर्ने उद्देश्यले गठित मदन भण्डारी फाउन्डेसनको मधेश प्रदेश कमिटीले पूर्णता पाएको छ । 

शनिबार महोत्तरीको बर्दिबासमा सम्पन्न मधेश प्रदेश स्तरीय विस्तारित बैठकले ५५ सदस्यीय प्रदेश कमिटी घोषणा गरेको हो । कमिटीको उपाध्यक्षमा सर्लाहीका नेकपा एमालेका नेता पूर्व हरिवन नगर प्रमुख गणेश प्रसाईंलाई चयन गरेको छ । सोही बैठकले पार्टीकै पूर्व क्षेत्रीय संयोजक चूडामणि वाग्लेलाई सर्लाही जिल्ला अध्यक्षमा चयन गरेको छ ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं मधेश प्रदेश इन्चार्ज लिला नाथ श्रेष्ठले बैठकको उद्‌घाटन गरेका थिए । बैठकले बाराका राज महमद रायको अध्यक्षतामा गठन गरेको मधेश प्रदेश कमिटीलाई पूर्णता दिएको हो । उपाध्यक्ष सर्लाहीका गणेश प्रसाईँ, सचिव महोत्तरीका रञ्जित कुमार सिंह, कोषाध्यक्षमा बाराका अशोक कुमार तिवारी र उपसचिवमा पर्साका नवराज शर्मा चयन भएका छन् । 

यस्तै बैठकले सर्लाही जिल्ला अध्यक्षमा चूडामणि वाग्लेलाई चयन गरेको छ । भने, रवि कडरिया, उज्वल कार्की, सजीव श्रेष्ठ र सन्जित थापालाई प्रदेश कमिटी सदस्यमा चयन गरेको छ ।
यसैबीच बैठकले धनुषा जिल्ला अध्यक्ष हरि किशोर यादव र इन्चार्ज राम कुमार महतो, महोत्तरी जिल्ला अध्यक्ष अरुण सिंह र इन्चार्ज गोपाल बराल, रौतहट जिल्ला अध्यक्ष मनिलाल सहनी र इन्चार्ज अमर आले चयन भए । यस्तै पर्सा इन्चार्ज ठाकुर न्यौपाने र बारा जिल्ला इन्चार्ज सुनिल कुमार गुप्ता रहेको फाउन्डेसनले जनाएको छ । केही जिल्लामा आवश्यक सल्लाह पछि मात्र जिल्ला संयोजक र इन्चार्ज चयन गर्ने फाउन्डेसनले जनाएको छ ।

बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका श्रेष्ठले मधेश प्रदेशमा पर्ने सिरहाको सरेअम्बासलाई मदन भण्डारीको वृहत स्मृति स्थलको रुपमा विकास गरिने जानकारी दिए ।
नेकपा एमालेका पोलिटब्युरो सदस्यहरू सुमन राज प्याकुरेल, ज्वाला कुमारी साह र अचूत मैनालीले बैठकलाई सम्बोधन गरेका थिए । कार्यक्रममा नेकपा एमाले केन्द्रीय अनुशासन आयोग सदस्य दुर्गा दाहाल सहितका नेताहरूले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा फाउण्डेसनका केन्द्रीय सदस्य समेत रहेका नेकपा एमाले केन्द्रीय सदस्य, मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोज यादवले कमिटीलाई पूर्णता दिदैँ ५५ सदस्यीय कमिटीको घोषणा गरेका हुन् । मधेश प्रदेशका ८ वटै जिल्लाका कम्तीमा ५ जनाको दरले प्रतिनिधित्व भएको बैठकले सर्वसम्मत रुपमा कमिटीलाई अनुमोदन गरेको थियो ।

बैठकलाई सम्बोधन गर्दै प्रदेश कमिटी अध्यक्ष राज मोहमद रायले फाउन्डेसनले मधेश प्रदेश भर सङ्गठन विस्तार गर्ने र मदन भण्डारीको वैचारिक मार्गमा ठोस काम अगाडी वढाउने प्रतिवद्धता व्यक्त गरे ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles