मलङ्गवा–ज्यान मुद्दामा २० वर्ष कैद फैसला भएका एक प्रतिवादीलाई प्रहरीले ४० वर्ष पछि पक्राउ गरेको छ ।
कर्तव्य ज्यान मुद्धामा २० वर्ष कैद सजाय फैसला भएका रौतहटको साविक ब्रह्मपुरी गाविस वडा नम्बर ९ निवासी ५६ वर्षका राजु सिंहलाई प्रहरीले सर्लाहीको चक्रघट्ट गाउँपालिका–४, सुन्दरपुरबाट पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा नाम र धर्म समेत परिवर्तन गरी लुकिछिपी बसेको अवस्थामा सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
‘‘धुपकली देवीको जाहेरीमा जिल्ला अदालत रौतहटले उनलाई २० वर्ष कैद सजाय गरेको थियो ।’’ प्रहरी प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘‘तर, उनी फैसला लगतै फरार भएका थिए । प्रहरीले उनको खोजी गरिरहेको थियो । नाम र धर्म समेत परिवर्तन गरी उनी सर्लाहीको चक्रघट्टको एउटा गाउँमा लुकेर बसेको गोप्य सूचना पछि प्रदेश र जिल्ला प्रहरी सर्लाहीको टोलीले पक्राउ गरेको हो ।’’
पक्राउ परेका सिंहलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत रौतहट उपस्थित गराएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनु भयो ।