राजु तामाङ, हरिवन-सर्लाहीको हरिवन नगरपालिका-५, स्थित घुर्कौलीमा तीन दिने सोनाम ल्होछार साँस्कृतिक महोत्सव हुने भएको छ ।
तामाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व सोनाम ल्होछार मन्जुश्री सम्वत २८६१ डुल/सा पुख्री ल्हो (सर्प वर्ग) को अवसरमा माघ १६, १७ र १८ गते तीन दिने ल्होछार साँस्कृतिक महोत्सव आयोजना हुने भएकाे हाे । महाेत्सवकाे मधेश प्रदेश सरकारकी निवर्तमान श्रम तथा यातायात मन्त्री बेची लुङ्गेलीले उद्घाटन गर्ने आयाेजकले जनाएकाे हाे ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति समेत रहने भएकाे छ । महोत्सवको उद्घाटन सत्रको पहिलो दिन १६ गते गायक बुद्ध घिसिङ र नेपाली तथा तामाङ चलचित्र निर्देशक निमा लामा तामाङको प्रस्तुति र कल्चरल नृत्यहरु रहने छ । भने, दोस्रो दिन १७ गते वरिष्ठ सेलो गायिका इन्दिरा गोले र संजीब घिसिङको प्रस्तुति रहने छ ।
त्यस्तै तेस्रो दिन १८ गते सेलो गायक जीवन बोम्जन र देव कुमार स्याङ्तानले आफ्नो प्रस्तुति राख्ने कार्यक्रम संयोजक सिंगलाल योन्जनले जनाएको हो । महोत्सवलाई थप मनोरञ्जन प्रदान गर्न विभिन्न खेल, तमासाका सामग्रीहरु रोटे पिङ, घोडचडी, रेल, डुंगा र बच्चाहरुको लागि गाडीका खेलहरु लगायत विभिन्न खानाका परिकारहरुको स्टल रहने बताइएको छ । स्टल राख्न इच्छुकले संयोजक योन्जनलाई सम्पर्क राख्न समेत आयोजकले आव्हान गरेको छ ।
५ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा हरिवन ५ का तामाङ समाजले सिद्धार्थ टोलको खेल मैदानमा महोत्सव आयोजना गर्न लागिएको हो । ल्होछारको अवसरमा आफ्नो संस्कृतिलाई जोगाइ राख्न र साँस्कृतिक जागरण सहित पुस्तान्तरणका लागि सर्लाहीको विभिन्न गाउँ बस्तीहरुमा भव्यताका साथ साँस्कृतिक कार्यक्रमहरुको आयोजना गर्दै हर्षोल्लासका साथ मनाउँदै आइरहेका छन ।